परिचय
नेपाल एक कृषिप्रधान मूलुक हो जहाँ सन् २०११ मा ७९.७% र सन् २०२१ का अनुसार, ६२% जनसंख्या
पूर्णरुपले कृषिमा निर्भर रहेको छ ।
नेपालको कूल ग्राहस्र्थ उत्पादनमा ३५% योगदान रहेको कृषि क्षेत्र बजेट र राज्यका
कार्यक्रमहरुको दृष्टिकोणले अत्यन्तै पछाडि परेको देखिन्छ । नेपालको
औद्योगिकीकरणमा समेत महत्वपूर्ण स्थान रहेको कृषिक्षेत्रले नेपालमा सञ्चालित
उद्योगहरुमध्ये ५५% उद्योगलाई आवश्यक कच्चा पदार्थ उपलब्ध गराइरहेको छ । सन् १९८०
सम्म कृषिमा आत्मनिर्भर रही छिमेकी राष्ट्र भारतमा खाद्यान्नको निर्यात गरिरहेको
मुलुक हाल कृषिजन्य उत्पादन र कृषिका लागि आवश्यक प्रविधि, ज्ञान र अन्य वस्तुका लागि
समेत विदेशी राष्ट्रमा निर्भर रहेको छ । कूल बजेटको १५% बजेट कृषिमा छुट्याइएको
भएपनि नेपालको कृषिप्रतिको परनिर्भरता दिनदिनै तिव्र गतिमा बृद्धि हुँदै गइरहेको छ
। यो लेखले नेपालको कृषिप्रतिको परनिर्भरताका विभिन्न आयामहरुको व्याख्या गर्नेछ ।
विधि तथा
सैद्धान्तिक सम्बधता
यो लेख पूर्णत द्वितीयक तथ्याङ्कहरुमा आधारित रहेको छ । केन्द्रीय तथ्याङ्क
विभाग, कृषि, सूचना तथा सञ्चार केन्द्र, युएनडीपी लगायतका निकायहरुले
प्रकाशित लेख तथा समाचारलाई पनि द्धितियक स्रोतको रुपमा प्रयोग गरिएको छ
।सैद्धान्तिक रुपले परनिर्भरतावादी सिद्धान्तका मुख्य व्याख्याकार ए.जी. फ्रान्क
हुन् जसले सन् १९६६ मा प्रकाशित कृति–अविकासको विकासमा परनिर्भरताका विभिन्न पक्षहरुको
बारेमा व्याख्या गरेका थिए । त्यस्तै परनिर्भरतावादी सिद्धान्तको कमी कमजोरी
औंल्याउँदै इमानुयल वालेस्टाइनले सन् १९७६ मा विश्व व्यवस्थात्मक सिद्धान्तको
व्याख्या गरेका छन् । फ्रान्कले परनिर्भरतालाई केन्द्र र बाहिरी राष्ट्र बीचको
सम्बन्धको रुपमा व्याख्या गरेका छन् र बाहिरी वा गरिबीको अवस्थामा रहेका
राष्ट्रहरु हरेक दृष्टिकोणले केन्द्रका विकसित राष्ट्रहरमा निर्भर रहने धारणा
राख्दछन् । फ्रान्कले परनिर्भरता र गरिबीको मुख्य कारण धनी राष्ट्रले गरिब
राष्ट्रलाई गरेको शोषण, दमन र असमानता हुन भन्ने धारणा राख्दछन् । यसको पछिल्लो धारणाको रुपमा आएको
विश्व व्यवस्थात्मक सिद्धान्तले विश्वलाई केन्द्र, अर्थपृष्ठ क्षेत्र र पृष्ठ क्षेत्र गरी तीन समूहमा
विभाजन गर्दछ । यी दुवै सिद्धान्त नव माक्र्सवादी सिद्धान्त हुन् जसको प्रयोग
नेपाल जस्तो विपन्न र परनिर्भर राष्ट्रको व्याख्या गर्न प्रयोग गर्न सकिन्छ ।
ए.जी.फ्रान्कले ल्याटिन अमेरिकी राष्ट्रमा गरेको अनुसन्धानको आधारमा यो
सिद्धान्तको निर्माण गरेका थिए । उनका अनुसार कुनै पनि राष्ट्र गरिबीको अवस्थामा
रहनुको मुख्य कारण अन्य राष्ट्रमा परनिर्भर रहनु हो । जबसम्म गरिब राष्ट्रले
परनिर्भरको जन्जीर चुडाउन सक्दैनन् तबसम्म तिनी स्वतन्त्र र विकसित हुन सक्दैनन् ।
यो लेख ए.जी.फ्रान्क को परनिर्भरतावादी सिद्धान्तमा आधारित रही तयार गरिएको छ ।
नेपालको कृषिमा रहेको परनिर्भरता
नेपालको इतिहासलाई फर्केर हेर्दा लिच्छवीकालमा नेपाल एशियाको केन्द्रमा विद्यमान थियो । कौटिल्यले आफ्नो
अर्थशास्त्रमा नेपालको कम्बल भारतीय बजारमा लोकप्रिय रहेको उल्लेख गरेका थिए ।
त्यो अवधिमा नेपाल एशियाली मुलुकको केन्द्रमा थियो भने नेपालका छिमेकी राष्ट्र
नेपालमा निर्भर थिए । मध्यकालसम्म नेपालको मुद्रा तिब्बत र भारतका कतिपय राज्यमा
प्रचलित थियो (रेग्मी १९८८)। सुगौली सन्धिले नेपालको आत्मनिर्भरता कटौती गरी
नेपाललाई पूर्णरुपले ब्रिटिस इन्डियामा निर्भर गरायो । राजनीति, अर्थतन्त्र, सुरक्षा, सिमाना, शिक्षा लगायतका कारकतत्वहरुमा
नेपाल ब्रिटिस इन्डिया परनिर्भर रहन बाध्य भयो । सन् १९५६ मा बनेको प्रथम
पञ्चबर्षीय योजना भारत र अमेरिकी सहयोगमा निर्मित भएको थियो । यी सबैमा नेपाल
परनिर्भर रहे पनि कृषि अर्थात् खाद्यान्नमा नेपाल सन् १९७५ सम्म आत्मनिर्भर नै थियो (Blakie,
Cameron and Seddon, 1976) । कृषिप्रधान मुलुक नेपाल
सन् १९८० देखि खाद्यान्न, फलफूल, तरकारी लयायतका कृषिजन्य पदार्थको लागि विदेशी राज्यमा निर्भर रहेको छ ।
राज्यले बनाएका २० वर्षे कृषि योजना देखि अन्य पञ्चवर्षिय र त्रिवर्षिय योजनाहरुले
कृषिमा प्रसस्त जोड दिएपनि नेपालको कृषिमा रहेको परनिर्भरता कम हुनको साटो झन्
बढ्दो रुपमा रहेको छ ।
कृषि परनिर्भरताका आयामहरु
कृषि एक बहुआयामिक कार्य प्रणाली हो जसमा विभिन्न वस्तु, साधन, स्रोत र सम्बन्धहरु रहेका
हुन्छन् । कृषिकार्यसँग सम्बन्धित यी साधन वा वस्तुहरुलाई यहाँ यसका आयामको रुपमा
उल्लेख गरिएको छ । कृषिसँग सम्बन्धित विभिन्न आयामहरुमा पछिल्ला अवधिमा नेपालको
परनिर्भरता बढ्दो रहेको छ । विश्व व्यापार संगठन को सदस्य राष्ट्र नेपालले कृषिजन्य
पदार्थको व्यापार प्रवद्र्धन गर्नसकेको छैन बरु उल्टो विश्व बजारमा खरिदकर्ताको
रुपमा स्थापित भइरहेको छ । कृषि परनिर्भरताका विभिन्न आयामहरुमध्ये केही आयाममा
रहेको परनिर्भरतालाई यहाँ उल्लेख गरिएको छ।
कृषिजन्य पदार्थमा बढ्दो बैदेशिक परनिर्भरताले नेपालको कृषि प्रणालीमा संकट
सिर्जना गरिरहेको छ । ठूलो संख्यामा कृषिमा निर्भर जनसंख्यामा अन्य कार्य र
बैदेशिक रोजगारमा जान थालेकोे छ । गाउँघरका खेतबारी बाँझो पल्टिरहेका छन् भने
नेपालका युवा अरवियन मूलुक पुगी कृषिकार्य गरिरहेका छन् । उत्पादन न्यून रहेकाले
कृषि पदार्थमा नेपाल पूर्णतः परनिर्भर रहेको छ । कृषि तथा सहकारी मन्त्रालयको
तथ्याङ्कका अनुसार सन् २००९/१० मा नेपालले तरकारीमात्र विदेशबाट २७.०९ विलियन
बराबरको आयात गरेको थियो जुन त्यो भन्दा अघिल्लो वर्षमा २१.०८ विलियन मात्र थियो ।
तरकारी, फलफूल, तेल, अन्य खाद्यपदार्थहरुमा नेपाल
विदेशी राष्ट्रमा निर्भर रहन बाध्य रहेको तथ्याङ्कले देखाउँछ । कृषि तथा सहकारी
मन्त्रालयको सन् २०१२ (वि.स.२०६९/७०) को तथ्याङ्क अनुसार नेपालले तरकारी जन्य
पदार्थ रु. २७.७२ अर्ब, तयारी खाद्ध पदार्थ रु. १६.४८ अर्ब, खाद्ध तेल रु. १३.८८,
पिठो जन्य पदार्थ रु. ५.०३ अर्ब, तरकारी रु. १३.८८ अर्ब, फलफुल र नट्स रु. ४.३६
अर्ब, जीवित जनावर रु. २.७३ अर्ब, मकै रु. २.०५ अर्ब, दूधजन्य पदार्थ रु.
२.२७ अर्ब बराबरको आयात गरेको थियो l कृषि मन्त्रालयका अनुसार
विगत तीन वर्षदेखि नेपालल १४४ अर्ब बराबरको कृषि उत्पादन आयात गरिरहेको छ ।
यसमध्ये तरकारी ७७.३६ अर्ब, तयारी खाद्य पदार्थ ३९.०८ अर्ब, खानेतेल ३२.७९ अर्ब र मासुजन्य पदार्थ ६अर्ब बराबरको
रहेको छ । आज भन्दा १० बर्ष अघिको यो अवस्थामा अहिले सम्म कुनै परिवर्तन भएको
देखिदैन बरु परनिर्भरताको रुप झन् गहन बन्दै छ l
क्लिकमान्डु (२०७९) ले २०२३ जनवरीमा प्रकाशित गरेको एक समाचारका अनुसार,आ.व. २०७८/७९ को आर्थिक
सर्वेक्षण अनुसार निर्यातको तुलनामा आयात दोब्बर बढी हुने गरेको उल्लेख गरेको छ
।उक्त समाचार अनुसार आ.व. २०७८/७९ को फागुन मसान्तसम्ममा नेपालले २ खर्ब ८८ अर्ब
६७ करोड ८० लाख रुपैयाँ बराबरको आयात गर्दा १ खर्ब ५ अर्ब १३ करोड ९० लाख
रुपैयाँको कृषिजन्य वस्तुको निर्यात गरको छ । आयात तथा निर्यातमा ठूलो
हिस्सा रहेको तेल (८ महिनाको अवधिमा ९५ अर्ब १५ करोड रुपैयाँको कच्चा तेल आयात
गर्दा ८० अर्ब ३८ करोड रुपैयाँको निर्यात) बाहेक अन्य कृषिजन्य वस्तुको आयात निकै उच्च
छ भने निर्यात निकै कम रहेको छ । कृषिजन्य वस्तुमा तेल पछी सबैभन्दा बढी धान चामलको आयात उच्च रहेको छ जुन ८ महिनाको अवधिमा मात्रै
३६ अर्ब ७६ करोड रुपैयाँ बराबरको छ ।त्यस्तै, तेश्रोमा तरकारी तथा दलहनको आयात रहेको छ जुन २६ अर्ब ७३ करोड रुपैयाँ बराबर रहेको छ ।
तालिका: आ.व. २०७८/२०७९ को कृषि वस्तुको आयात निर्यात
कृषिजन्य वस्तु |
आयात |
निर्यात |
आयात मात्र हुने |
मासु |
४ करोड २ लाख |
१ करोड ८ लाख |
जीवित जन्तु - १ अर्ब ४६
करोड ३० लाख |
दुग्धजन्य र पशुजन्य पदार्थ |
१ अर्ब ४६ करोड ६० लाख |
५ करोड ३० लाख |
माछा र अन्य जलचर - १ अर्ब
१२ करोड |
जीवित बोटबिरुवा र फुलहरु |
१७ करोड ३ लाख |
३ लाख |
तयारी माछा मासु – ९ करोड ५०
लाख |
तरकारी र दलहन |
२६ अर्ब ७३ करोड ७० लाख |
६२ करोड ३० लाख |
धान चामल – ३६ अर्ब ७६ करोड
६० लाख |
नटस र फलफुल |
१६ अर्ब ३१ करोड २० लाख |
१७ करोड ९० लाख |
मकै – १४ अर्ब २९ करोड ९० लाख |
चिया |
७ करोड २० लाख |
२ अर्ब २१ करोड ५० लाख |
गहु – ५ अर्ब ३६ करोड ९० लाख
|
कफी |
८ करोड ६० लाख |
४ करोड ८० लाख |
चिनी – ४ अर्ब ८२ करोड २०
लाख |
मसला |
६ अर्ब ४ करोड ७० लाख |
३ अर्ब ८० करोड ६० लाख |
रेशम – ४८ करोड ४० लाख |
पिठो,मैदा,सुजि च्याख्ला |
१ अर्ब ४८ करोड ७० लाख |
९ करोड |
|
पशुपक्षीको आहारा |
२० अर्ब १३ करोड ९० लाख |
५ अर्ब १२ करोड ८० लाख |
|
सुर्ती र सुर्तीजन्य पदार्थ |
२ अर्ब २० करोड ८० लाख |
३ करोड ५० लाख |
|
छाला |
५ करोड २० लाख |
३७ करोड |
|
तेल |
९५ अर्ब १५ करोड ७० लाख |
८० अर्ब ३८ करोड ४० लाख |
|
चिनीजन्य उत्पादन |
७० करोड ९० लाख |
३ करोड ६० लाख |
|
उन |
३ अर्ब २३ करोड ४० लाख |
९ लाख |
|
कपास |
७ अर्ब ५८ करोड ९० लाख |
६ लाख |
|
जुट र अन्य बनस्पति रेशा |
४ अर्ब २३ करोड ८० लाख |
४ अर्ब ७४ करोड ६० लाख |
|
अन्य कृषिजन्य वस्तु |
३८ अर्ब ९० लाख |
७ अर्ब ४६ करोड ९० लाख |
|
श्रोत : भन्सार बिभाग, २०७९; क्लिकमान्डु, २०७९
सरकारले
कृषिजन्य वस्तुको निर्यात पनि उच्च भएको दाबि गर्दछ तर, माथि उल्लेखित कृषिजन्य वस्तुहरूको आयात मात्र हुने र निर्यात नहुने अवस्था देखिन्छ
। नेपालले उच्च मुल्यमा आयात गर्दै आएको धान, चामल, मकै, गहुँ, चिनी लगायतका वस्तुको निर्यात भने शून्य
रहेको छ ।एकातिर नेपालमा कृषिजन्य वस्तुको उत्पादन न्यून रहेको छ भने अर्को तिर
यति ठुलो परिमाणमा कृषिजन्य वस्तुको आयात हुदा पनि नेपालमा खाद्यान्नको अभावमा
भोकमरी हुने सम्भावना रहेको छ । यो तथ्याङ्कले नेपालले वर्षेनी ठूलो परिणाममा कृषिजन्य तथा
खाद्यपदार्थहरुको आयात गरिरहेको छ भने निर्यात गर्ने कृषिजन्य पदार्थ तथा खाद्य
पदार्थ अत्यन्त न्यून रहेका छन् तर पनि नेपालमा खाद्यान्नको आपूर्ति भै रहेको
देखिदैन।
खाद्यान्नको परनिर्भरता
अन्तर्राष्ट्रिय
मुद्रा कोष (२०२३) ले सार्वजनिक गरेको रिपोर्ट
अनुसार, नेपालका १८ प्रतिशत जनताले सामान्य र आधारभूत
पोषणयुक्त खाना खान नपाएको, देशका ३४ जिल्ला खाद्यान्न जोखिममा
रहेको, ४१ प्रतिशत जनताले न्यूनतम आहार
भन्दा कम खाना खाइरहेको उल्लेख गरेको छ । प्रतिवेदनमा नेपालका ४६ लाख जनता आज पनि कुनै
न कुनै रुपमा खाद्य असुरक्षामा रहेको, भोकमरीको
सूचीमा नेपालको स्थान ७६ औ नम्बरमा रहेको बताइएको छ । आइएमएफले सार्वजनिक गरेको यो
प्रतिवेदनले नेपालको आजकै खाद्य सुरक्षाको अवस्था दयनीय रहेको र यही ढंगले मुलुक अगाडि
बढ्ने हो भने नेपालको भविष्य अँध्यारो भएको चित्रण गरेको छ (भण्डारी, २०८०) ।उत्पादन गरिएको खाद्यान्नले ३ महिनामात्र धान्ने यी
जिल्लाहरुले खाद्यान्नका लागि अरु जिल्ला, भेग वा देशमा निर्भर रहने गर्दछन् । केही बर्षअघिसम्म
तराईले नेपालको खाद्यसंकट टार्ने गर्दथ्यो भने हाल खाद्यान्नको लागि नेपाल विदेशी
राष्ट्रमा निर्भर रहेको छ । मकै, कोदो, धान, गहुँ जस्ता खाद्य पदार्थ नेपालले वर्षेनी विदेशी
राष्ट्रहरुबाट आयात गरिरहेको छ । भारतबाट गतवर्ष १३.३६ अर्ब बराबरको धान आयात
गरिएको थियो भने दुग्ध पदार्थ १.२ अर्ब बराबरको थियो । एक तथ्याङ्कका अनुसार सन्
१९८१ देखि २००५ सम्म नेपालको खाद्यान्न उत्पादन दर ४१% मा झरेको छ ।
नेपालको उत्पादनमा धान र गहुको उत्पादन दर क्रमशः ७२% र ६३% रहेको छ भने पहाडी
क्षेत्रमा मकैको उत्पादन ७०% रहेको छ तर यी सबैमा नेपाल परनिर्भर रहेको छ । निकासी
प्रवद्र्धन केन्द ९्र२०११० का अनुसार आ.व.२०६५÷०६६ मा भारतबाट कोदो मात्र ११ हजार टन आयात गरिएको
थियो जुन आ.व.२०६६÷०६७ मा १२ हजार टनमा पुगेको थियो । त्यस्तै फापर, जौ, मकै लगायतका खाद्यान्नको
लागि पनि नेपाल विदेशी राष्ट्रमा नै निर्भर रहेको छ । भन्सार विभाग (२०७७) का अनुसार, यो आर्थिक वर्षमा रू. ३२ अर्ब ६० करोड बराबरको धान चामल आयात
भएको देखिन्छ । वि.सं. २०६८ मा नेपालले कोदो, १५
हजार टन, फापर ७५ टन, जौ १ हजार टन, मकै
१ लाख ७० हजार टन, जुनेलो ३ टन, चना/
मटर १९ हजार टन आयात गरेको देखिन्छ भने आ.व.२०७८/७९ को चैतसम्म ६० अर्बको
खाद्यान्न आयात भएको छ। यो आ.व. २०७८।७९ को नौ महिनामा रु. ५९ अर्ब २९ करोड ७० लाख
३६ हजारको कृषि सामान आयात भएको छ जसमा रु. १४ अर्ब ९७ करोड २३ लाख ६८ हजार मूल्य
बराबरका ५० करोड ५० करोड ८८ लाख ७८ हजार ३०८ केजी धान आयात भएको छ (रेग्मी २०७९)।
केन्द्रीय
भन्सार विभागका अनुसार गत आव २०७८/७९ मा नेपालमा
तीन खर्ब ५५ अर्ब १३ करोड ६१ लाखको कृषिजन्य वस्तु आयात भएको छ। उक्त तथ्यांक पाँच
वर्षअघि आव २०७४/७५ को भन्दा ५७.४९ प्रतिशतले बढी हो। सो आवमा दुई खर्ब चार अर्बको
मात्र कृषिजन्य वस्तुको आयात भएको थियो। जसमा सबैभन्दा ठूलो हिस्सा धान/चामलकै छ। धानपछि
गहुँको आयात पनि उत्तिकै ठूलो छ।(वम, २०८०) । यसबाट के देखिन्छ भने नेपालमा अत्यधिक उत्पादन हुने
मकै, कोदो, फापर समेत नेपालले विदेशबाट आयात गर्दछ जसले नेपालको खाद्यान्नमा रहेको
परनिर्भरता तिव्र र उच्च रहेको जनाउँछ ।
तरकारी र फलफूलमा परनिर्भरता
तरकारीको उत्पादन नेपालमा अत्यधिक हुने भएपनि यसको खपतको
उच्चताले यो उत्पादन अपुग रहेको छ । नेपालले ठूलो परिमाणमा तरकारी भारत, चीन, भुटान लगायतका
राष्ट्रहरुबाट आयात गर्दछ । तरकारीमा पनि ठूलो रकम विदेशमा पलायन भैरहेको देखिन्छ
। तरकारी यस बर्षको मध्यसम्म २१.७२ अर्ब,
बराबरको
आयात गरिएको छ । गतवर्ष तरकारी ३५.२८ अर्ब,
को
आयात गरिएको थियो । जसमा आल २.१४, अर्ब,
प्याज
१.१७ अर्ब, लसुन ४१० करोड
बराबरको आयात गरिएको थियो । त्यस्तै फलफूल गत वर्ष ४.१६ अर्ब, बराबरको आयात गरिएको थियो जसमा वेटलनट १.६६ अर्ब, कोकोनट १७० करोड बराबर आयात गरिएको छ । कृषिका यी विभिन्न
वस्तुहरु भारत, चीन, थाइल्याण्ड, इन्डोनेशिया, अर्जेन्टिना, म्यान्मार, सिङ्गापुर लगायतका
देशबाट आयात गरिन्छ । (कारोबार दैनिक, २०७९) । आ.व.२०६६÷०६७ मा भारतबाट
मात्र २५.१% तरकारी आयात गरिएको थियो जसमा गोलभेडा, आलु, प्याज, कागती मुख्य थिए । यो अवधिमा आयात
गरिएका तरकारी ४ करोड ४३ लाख १० हजार ७०७ मेट्रिक टन बराबरको थियो । यसै अवधिमा
चीनको तिब्बत क्षेत्रबाट ७०७ मेट्रिक टन आलु नेपालमा आयात गरिएको थियो जुन कूल
आयातको १.८३% थियो । त्यस्तै भुटानबाट २१८ मेट्रिक टन रातो आलु आयात गरिएको थियो
जुन कुल आयातको १.१९% थियो । माथिको तथ्याङ्कले नेपालले प्याज र आलु सबैभन्दा बढी
भारतबाट आयात गर्दछ । त्यस्तै चीनको तिब्बत र भुटानबाट रातो र सेतो आलु ठूलो
मात्रामा आयात गर्दछ । त्यसैले नेपालको तरकारीको निर्भरता ठूलो मात्रामा भारतमा
रहेको छ । त्यस्तै गोलभेडा, बन्दागोभी, काउली, लसुन लगायतका तरकारी पनि भारतबाट
नेपालमा आयात भैरहेको छ ।
त्यस्तै फलफूलको लागि पनि नेपाल विदेशी राष्ट्रमा नै निर्भर
रहेको छ । कृषि मन्त्रालयका अनुसार नेपालले वर्षेनी ६ अर्ब, रुपैया बराबरको
फलफूलको आयात गर्दछ । केरा, स्याउ, आप, नास्पाती, भूइँकटहर, लिची लगायतका फलफूल वर्षेनी करौडौं
रुपैयाँ बराबरको आयात हुने गर्दछ । आयतित फलफूलमध्ये ७५% फलफूल भारतबाट र २७% चीन, कोरिया, भुटान लगायतका
राष्ट्रहरुबाट आयात गरिन्छ । रिपब्लीका (२०७०) का अनुसार काठमाडौं उपत्यकामा मात्र
२५० फलफूलका होलसेल पसल छन् । तिनीहरुले दैनिक ७ करोड बराबरको फलफूलको
कारोबार गर्दछन् । त्यसैले नेपाल तरकारी र
फलफूल दुवैमा विदेशी बजारमा निर्भर रहेको छ ।
नयाँ
प्रविधिअनुसार खेती गर्न नसकेकाले अझै पनि ६० प्रतिशत फलफुल तथा तरकारी भारत तथा
तेस्रो मुलुकबाट आयात हुँदै आएको छ ।नेपाल फलफुल तथा तरकारी व्यावसायी महासङ्घका
अध्यक्ष खोमप्रसाद घिमिरेले बताए अनुसार, नेपालमा
तरकारी तथा फलफुलको वार्षिक माग ६० अर्ब रुपैयाँ बराबर रहेको छ, तर, २५ अर्ब
रुपैयाँबराबरको मात्र उत्पादन हुने गरेको छ ।तरकारीमा स्वदेशी उत्पादनले ४०
प्रतिशतमात्रै बजार ओगटेको उनको भनाइ छ (गिरि, २०८१) । त्यस्तैगरी, केन्द्रीय भन्सार विभाग (२०८०) का अनुसार गत आवमा जिउँदो पशुपक्षी, माछा, मासुलगायत दुई अर्ब
३८ करोड १५ लाख, कफी तथा चिया चार अर्ब सात करोड ७० लाख, तरकारी १९ अर्ब ६६
करोड ७५ लाख, फलफूल नौ अर्ब ६६ करोड ४७ लाख, खाद्यान्न ३४ अर्ब
६७ करोड ८४ लाख, तेलहन वस्तु १२ अर्ब १७ करोड पाँच लाख, वनस्पति, जनावरको वोसो तथा तेल
५७ अर्ब ९९ करोड ५ लाख, चिनी तथा चिनीजन्य वस्तु दुई अर्ब ९७ करोड ८० लाखको आयात भएको
देखिन्छ (वम, २०८०) ।
मासुमा परनिर्भरता
नेपाली बजारमा पाइने मासु नेपालको उत्पादनले मात्र पुग्ने
अवस्थामा छैन । दशैंको समयमा चीन (तिब्बत) बाट ल्याउने ठूलो संख्याका च्याङ्ग्राले
नेपालको मासुको निर्भरता चीन र भारतमा रहेको देखाउँछ । काठमाडौं उपत्यकाको मासु
भारतबाट आयातित राँगा, भैसीले धान्ने गरेको छ भने कुखुरा, हाँस, भेडा, सुँगुर
आदिको लागि पनि नेपाली मासु बजार भारत र चीनमा निर्भर रहेको छ । कान्तिपुर (२०६९)
ले दिएको समाचार अनुसार दशैंको अवधिमा ७०,००० खसी बोका काठमाडौं झिकाइएको थियो ।
गत वर्ष उक्त संख्या २०,००० भन्दा बढी थियो । त्यस्तै खाद्य संस्थानका अनुसार, १६,०००
भेडा च्याङ्ग्रा यो अवधिमा तिब्बतबाट नेपालमा झिकाइएको थियो । नेपालको मासु बजारमा
भारतबाट भित्रिने मासु ७०% रहेको छ भने बाँकी ४०% अन्य देशहरुबाट भित्रिने गरेको छ
। कृषि मन्त्रालयका अनुसार २०१२ मा नेपाल भित्रीएका जनावरको संख्या भेडा-२९,००० , खसी
बोका - ३७०,४०० र भैसी - ५९,८१० रहेको छ ।त्यसको लगभग १० वर्ष पछी
पनि यो अवस्थामा खासै परिवर्तन आएको देखिदैन ।
नेपालले वि.स.२०७८ को ५ महिनाको अवधिमा ६८ करोड ५३ लाख ८७ हजार
रुपैयाँको २५ लाख ६ हजार ४३७ केजी माछामासु आयात गरेको थियो । २०७९ को सोही अवधिमा नेपालले २३ करोड २६
लाख ९० हजार रुपैयाँको ७ लाख ८४ हजार २८६ केजी माछामासु आयात गरेको छ । जसमा नेपालले
७ करोड ४६ लाख ११ हजार रुपैयाँ राजस्व महसुल संकलन गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७८ मा ३ अर्ब १३ करोड ६१ लाख ५५ हजार रुपैयाँको
६१ लाख ७६ हजार ६१६ केजी र आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब ३३ करोड ७२ लाख १४ हजार रुपैयाँको ७८ लाख ५६ हजार
२६१ केजी सामुन्द्रिक माछामासु आयात गरेको छ । नेपालले सबैभन्दा बढी भियतनामबाट सामुन्द्रिक माछा मासु आयात गर्दै आएको
तथ्यांक छ । भियतनामपछि, भारत, थाइल्यान्ड, डेनमार्क, हङकङ, चीन,बंगलादेश र सिंगापुरबाट
आयात गरेको छ ।
नेपालले २३ करोड रुपैयाँको माछामासु आयात गर्दा २५ करोड ६३ लाख
२२ हजार रुपैयाँको जिवित चल्ला तथा जनावर आयात गरेको छ भने ६२ लाख ७४ हजार रुपैयाँको
४० हजार १५ केजी मासु आयात गरेको छ ।नेपालले पाँच महिनाको अवधिमा २० करोड ५५ लाख ६५
हजार रुपैयाँको ९९ हजार ६४४ वटा चल्ला आयात गरेको छ जुन अष्ट्रेलिया, क्यानाडा, डेनमार्क, फ्रान्स, मलेसिया, न्यूजिल्यान्डबाट हुने गरेको छ । नेपालले जिवित जनावरहरु ब्रुनाई, अर्जेन्टिना, अष्ट्रेलिया, बंगलादेश, भुटान, ब्राजिल, क्यानाडा, चीन, चेच रिपब्लिक, डेनमार्क, इजिप्ट, फ्रान्स, जर्मनी, हंगेरी, भारत, इटली, जापान, अमेरिका हुदै कुबेत, माल्टा, मोजाम्बीक्यू, नेदरल्यान्ड, पाकिस्तान, पोल्यान्ड, कतार, रिपब्लिक अफ मोल्दोभा, रोमनिया, रुस, साउदी
अरेबिया, सर्बिया, साउथ अफ्रिका, स्लोभाकिया, स्पेन, थाइल्यान्ड, टर्की, र बेलायतबाट अन्य जिवित जनावर आयात गरेका छन् (क्लिकमान्डु,
२०७९)।
यसर्थ नेपालको मासुप्रतिको परनिर्भरता वर्षेनी बढ्दो
मात्रामा रहेको देखिन्छ । नेपालको पहाड र तराई क्षेत्रमा उत्पादित खसी, बोका, राँगा, भैसी आदिले नेपालको मासुको खपत पूरा गर्न सकिरहेको छैन ।
तसर्थ चाडपर्व खासगरी दशैं–तिहारमा भारत र चीनबाट ठूलो मात्रामा मासुको आयात
गरिन्छ । कुखुराको मासुको लागि केही आत्मनिर्भर रहे पनि अन्य मासुमा विदेशप्रतिको
निर्भरता उच्च रहेको तथ्याङ्कले देखाउछ ।
बीउ–बीजनमा परनिर्भरता
कृषि उत्पादनका विभिन्न साधनमध्ये बीउबीजन सबैभन्दा
महत्वपूर्ण र आधारभूत तत्व हो जसको अभावमा कृषि उत्पादन हुनै सक्दैन । परम्परागत
रुपले कृषकले विभिन्न बीउबीजनको प्रयोग गरिरहेका भए पनि आधुनिक बीउबीजनले उत्पादन
बढाउने भएकोले यसको माग उच्च रहेको छ । खासगरी तराई क्षेत्र, उत्पयका र सुगम पहाडी क्षेत्रमा
बीउबीजनको माग बढिरहेको छ । नेपाल सरकारका
निकायहरुले बीउबीजनको उत्पादन र वितरणको माग पूरा गर्न नसकिरहेको सन्दर्भमा
बीउबीजनप्रतिको नेपालको परनिर्भरता बढिरहेको छ । नेपालको लागि आवश्यक बीउबीजन भारत, थाइल्याण्ड, चीन, जापान र कोरियाबाट आयात गरिन्छ । सरकारी तथ्याङ्क अनुसार
नेपाललाई बार्षिक ४०७ मे.ट.बीउ आवश्यक पर्दछ जसबापत नेपालले आयात गर्ने बीउबीजनमा
८५% तरकारीको बीउबीजन भारतबाट आयात गर्दछ भने बाँकी
१५% अन्य देशहरुबाट आयात गर्दछ । बीउबीजन आयात गरिने
मुख्य देशहरुमा भारत, थाइल्याण्ड, चीन, जापान, कोरिया आदि हुन । यो तथ्याङ्कमा मूला, सिमी, केराउ लगायतका बीउबीजनलाई समावेश गरिएको छैन । नेपालले बर्षेनी मुला, रायो, केराउ, काउली, सिमी, खुर्सानी, गोलभेडा, भन्टा, लौका, प्याज लयायतका तरकारीका बीउबीजनसमेत ठूलै संख्यामा आयात
गर्दछ (IFAD/MoAD
2011)
रिपब्लिका (२००९) का अनुसार नेपाललाई वर्षेनी १८५,००० टन बराबरको धान, गहुँ, मकै, कोदो
र जौको बीउ आवश्यक पर्दछ । यीमध्ये राष्ट्रिय बीउ कम्पनीले ३,८०९ टन बीउ अर्थात् राष्ट्रिय
आवश्यकताका २% पूर्ति गर्दछ भने बाँकी ९८% किसान स्वयं र विदेशबाट आयात गरी मागको
पूर्ति गरिन्छ । यसरी अन्न, तरकारी
तथा फलफूल उत्पादनका लागि आवश्यक बीउबीजनको ठूलो संख्या विदेशबाट आयात गरिएबाट
यसमा पनि नेपालको परनिर्भरता उच्च रहेको देखिन्छ ।
हलो खबर ले प्रकाशित गरेको एक समाचार अनुसार, आर्थिक
वर्ष २०७८/७९ मा ८६ करोड ४६ लाखको तरकारीको बीउ आयात भएको छ । उक्त समयमा २ लाख ४६
हजार २ सय ७३ केजी तरकारीको बीउ आयात भएको हो । यस तथ्याङ्कलाई आधार मान्दा अधिकांश
तरकारीको बीउ आयात हुने गरेको छ ।
तालिका: आ.व. २०७८/२०७९ को कृषि बिउ बिजनको आयात
बिउ बिजन |
रकम (रुपैया) |
मात्रा (के.जी.) |
काउली |
१३ करोड १० लाख |
४ हजार २ सय ९८ केजी |
बन्दा कोभी |
६ करोड ६ लाख |
३ हजार ३ सय ६२ |
ब्रो काउली |
१ करोड ९१ लाख |
२ सय ३० |
काँक्रा |
२० करोड १९ |
१ हजार १ सय ४४ |
गाजर |
५ करोड ४२ |
४ हजार ५ सय ८ |
प्याज |
२ करोड ७१ लाख |
१६ हजार १ सय ७५ |
इस्कुस |
१ करोड ७ लाख |
९ सय ५० |
मूला |
५ करोड १ लाख |
२१ हजार ७ सय २४ |
फर्सी |
४ लाख ५७ हजार |
३० केजी |
गान्टे मूला |
८ लाख २ हजार |
५० केजी |
टमाटर |
८ करोड ४ लाख |
९ सय ४३ |
भन्टा |
१५ लाख ६३ हजार |
१ सय ९७ |
भिण्डी |
३५ लाख ६० हजार |
३ हजार ८ सय |
बोडी |
५ करोड ३३ लाख |
५५ हजार ३ सय |
मकै |
६७ करोड ८६ लाख |
१९ लाख ३७ हजार २ सय १६ |
धान |
१ अर्ब १७ करोड ३५ लाख |
३० लाख ७० हजार ९ सय ७० |
श्रोत : https://halokhabar.com/
त्यस्तै, नेपालमा हाईब्रिड बिउ बिजनको आयातको
मात्रा पनि निकै उच्च हुने गरेको तथ्यांकले देखाउने गरेको छ । आर्थिक
वर्ष २०७०/७१ देखि २०७७/७८ सम्म धानको बीउ मात्र ५ अर्ब ५३ करोड ३३ लाख ६५ हजार ३७
मूल्य आयात भएको छ । पछिल्लो समय किसानहरूमा हाइब्रिड जातको बीउ प्रति आकर्षित
हुँदा बीउमा परनिर्भरता बढेको हो ।यस्तै
आर्थिक वर्ष २०७७/७८ मा धान, मकै
र विभिन्न जातका तरकारीका २ अर्ब ६७ करोड ३१ लाख रुपैयाँको बीउ आयात भएको बीउ बिजन
गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार
आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ६१ करोड ४२ लाख रुपैयाँभन्दा बढीको ४१ लाख ६८ हजार
९ सय ५२ किलो धानको वर्णसंकर जातको बीउ आयात भएको छ ।त्यस्तै, ५१ करोड ६८ लाख रुपैयाँ बराबरको २१ लाख ८५ हजार ६ सय ९६
किलो मकैको बीउ, ५४ करोड ८१ लाख रुपैयाँको १ लाख ४४ हजार ४ सय ८९ किलो काउली, बन्दा, ब्रोकाउली, काँक्रो, गाँजर, मुला, भिँडी, गोलभेँडा, धनियाँ, भन्टा, तिते करेला, लौका, फर्सीलगायत ३४ किसिमका तरकारीको
वर्णसंकर जातको बीउ आयात भएको छ ।विदेशबाट आयात हुनेमध्ये सबभन्दा धेरै १ करोड ४६
लाख रुपैयाँ बराबरको ५३ हजार ४ सय २० किलो वर्णसंकर धनियाँको बीउ आयात भएको
तथ्याङ्क छ । त्यस्तै, नेपालमा
वार्षिक ४५ हजार मेट्रिक टन वर्णसंकर जात धानको बीउ आवश्यक पर्छ । त्यसको करिब ९१ प्रतिशत
बिउ आयात हुने गर्दछ । नेपालमा भारत, चीन, जापान, थाइल्याण्ड, दक्षिण
कोरिया, अमेरिका, इटाली, फ्रान्स, डेनमार्क
लगायतका देशबाट बीउ बिजनको आयात हुने गर्दछ (राई, २०७९)।
मल र औजारमा परनिर्भरता
नेपाल कृषिमल र कृषिऔजारमा पनि पूर्णतः विदेशी र
राष्ट्रहरुमा निर्भर रहेको छ । सन् १९८० देखि २००० सम्मको प्रवृत्तिलाई हेर्दा
नेपालमा आधुनिक औजार प्रयोगमा ८०% ले बृद्धि आएको देखिन्छ । कृषिमल प्रयोगको
अनुपात यो अवधिमा २००% ले बढेको देखिन्छ । नेपाल लगायत दक्षिण एशियाका राष्ट्रहरु
बंगलादेश, भारत, नेपाल र
पाकिस्तानमा मलको प्रयोग ०–७% ले बढिरहेको छ भने यसप्रतिको परनिर्भरता २४–५२%
रहेको छ ।खाद्ध्य तथा मल प्रविधि केन्द्र (Food and Fertilizer
Technology Center, 2000) ले गरेको एक अनुसन्धान
अनुसार, नेपाल लगायत कम्बोडिया लाओस, थाइल्याण्ड, मङ्गोलिया, फिजी
र पुपुवा न्युगिनीले मल १००% नै विदेशी राष्ट्रबाट खरिद गर्दछन् जसमा नाइट्रोजन, फस्फोरस
र पोटासको मात्रा सबैभन्दा बढी रहेको छ ।
यी तीनै मललाई एन.पी.के. भनिन्छ जसको उत्पादन र निर्यात शून्य छ भने आयात
नाइट्रोजन ५१५, फस्फोरस १६५, पोटास ६५ र
एन.पी.के. ८३५ भने खपतका दर ४२५ छ ।
नेपालमा रासायनिक मल १५ अर्बभन्दा बढी रुपियाँको
आयात हुँदै आएको छ र यो मूलतः भारत वाट हुने गर्दछ l वि.स.२०७८ फागुन १६ मा नेपालको कृषि तथा पशुपन्छी
विकास मन्त्रालय र भारतको रसायन एवं
मल मन्त्रालय बीच ५ वर्षमा ९ लाख
३५ हजार मेट्रिक टन रासायनिक मल भारतले नेपाललाई आपूर्ति गर्ने सम्झौता भएको थियो । हालसम्म ३० हजार मेट्रिक टन युरिया
मल मात्र आपूर्ति भएको छ र २५ हजार
टन डीएपी आयात हुने क्रममा छ । जीटूजी
प्रक्रियामार्फत नेपालले आर्थिक वर्ष २०७८/७९
मा १ लाख मेट्रिक टन युरिया र ५० हजार टन डीएपी, आ.व. २०७९/८०
मा १ लाख १० हजार टन युरिया र ६० हजार टन डीएपी आयात गरेको छ । चालू आव २०८०/८१ मा १ लाख १५ हजार टन युरिया र ८० हजार
टन डीएपी, आव २०८१/८२ र २०८२/८३
मा १ लाख २० हजार टन युरिया र ९० हजार टन डीएपी आयात हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ (खड्का , २०८१) l
यो तथ्याङ्कले एन.पी.के. को आयात र खपत सबैभन्दा उच्च रहेको
छ भने त्यसपछि नाइट्रोजनको मात्रा रहेको छ । ग्रामीण क्षेत्रमा नै प्रयोग गरिने
भएकोले यसको मात्रा उच्च रहेको छ । त्यस्तै नेपालमा कृषिऔजारको उत्पादन अत्यन्तै
न्यून रहेको छ भने खपतको दर उच्च रहेको छ । हलो, कुटो, कोदालो लगायतका औजार स्थानीय रुपमा उत्पादन गरिए पनि कृषिमा
अन्य ठूला औजारहरु विदेशबाट नै आयात गरिन्छ । जोत्न प्रयोग गरिने ट्याक्टर, रोेप्ने मेसिन, धान, गहँु स्याहार्ने प्रयोग गरिने मेसिन आदि भारत, चीन, कोरिया, थाइल्याण्ड, जापान लगायतका राष्ट्रहरुबाट आयात गरिन्छ ।
निष्कर्ष
कृषिलाई मुख्य पेशा, आय–आर्जनको स्रोत
र कूल ग्राहस्र्थ उत्पादनको प्रमुख माध्यमको रुपमा प्रयोग गरिएको भए पनि
उत्पादकत्वको दृष्टिले कृषिमा उत्पादन दर अत्यन्तै न्यून रहेको छ । करिब ६६% जनसंख्या कृषिमा संलग्न रहेको
नेपालको बाँकी जनसंख्या पनि अप्रत्यक्षरुपले कृषिमै लागेको देखिन्छ । नेपालका
अधिकांश उद्योगको लागि कच्चा पदार्थ उपलब्ध गराउने कृषिले राजस्वको ठूलो भाग समेत
ओगट्ने गर्दछ । राष्ट्रिय योजना र बजेटमा समेत उच्च प्राथमिकता प्राप्त कृषिले
दिने उपलब्धि भने त्यति सन्तोषजनक देखिंदैन । खाद्यान्न, मासु, तरकारी, फलफूल, कृषिका
साधन आदिमा रहेको परनिर्भरताले कृषिले गरिबी निवारण भन्दा गरिबी बढाउन र
युवाशक्तिलाई विदेश पलायन हुन सहयोगी भूमिका निर्वाह गरिरहेको छ । सन् १९५६ देखि
२०२३ सम्मका १५ वटा योजनाको पहिलो प्राथमिकतामा रहेको कृषिले देशको आवश्यकता पूरा
गर्नुको सट्टा परनिर्भरता सिर्जना गराइरहेको छ । योजना छनौटको अदूरदर्शिता, योजना
कार्यान्वयनमा देखिने समस्या, कृषिमा
विशिष्टीकरणको अभाव र असक्षम राजनीतिक नेतृत्वले कृषिमा यो समस्या देखिएको हो
जसलाई नीति निर्माताहरुले समयमै ध्यान दिई निवारण गर्न जरुरी देखिन्छ ।
References
Annapurna Post (2010). Vegetable Import-Export in Nepal. Retrieved from www.annapurnapost.com.
Blakie, Cameron, and Seddon (1980). Nepal in crisis: Growth and stagnation
at the periphery. UK: Oxford University Press.
Frank, A.G. (1966 & 1979). Development and underdevelopment.
Retrieved from www.gjournals.org
IFAD and MOA (2011). A Report on a Value Chain Analysis of Vegetable
Seed in Nepal. SNV: The Netherland Development Organization.
IFTC (2000). Research on food and fertilizer of Nepal. Retrieved from, www.
Agent. org/library. USAID: Nepal Economic Growth Assessment to USAID Nepal.
Kathmandu.
The Kathmandu Post (2012). Food Dependency of Nepal. Retrieved from, www.ekantipur.org.
Ministry of Agriculture and Cooperative (2013). Kathmandu: Agriculture Census.
Retrieved from, www.aicc.gov.np.
Kantipur Daily (2013). Meat Dependency of Nepal. Retrieved from, www.ekantipur.com
MoF (2013). Review of the fifth-year plan of Nepal. Retrieved from, www.NPC.gov.np
Nagarik Daily (2011). Food Dependency of Nepal. www.nagariknews.com
Regmi, M. C. (1988). An Economic History of Nepal, 1846-1901.Varanas: Nath
Publishing House.
República (2009). Seed Production in Nepal. Retrieved from,
www.myrepublica.com
República (2014). Nepal imports fruits worth Rs.6b. Annually. Retrieved
from, www.myrepublica.com.
Wallerstein, I. (1976). The Modern World System. New York: Academic
Press.
सन्दर्भ सामग्री
क्लिकमान्डु (२०७९). कृषिजन्य वस्तुको
आयात निर्यातभन्दा दोब्बर बढी, ९५ अर्बको कच्चा तेल आयात गर्दा ८० अर्बको निर्यात, https://clickmandu.com/2022/06/201268.html.
क्लिकमान्डु
-२०७९_= सामुन्द्रिक माछा
मासुको आयात ६६५ ले घट्यो, नेपालले कुन कुन देशबाट ल्याउँछ
?https://clickmandu.com/2023/01/229203.html
कारोबार
दैनिक (२०१३) = नेपालको मासु बजार, काठमाडौं, कारोबार
अंक १२=
खड्का, प्रशान्त
-२०८१_ = भारतबाट रासायनिक
मल आयात स् ५ वर्षे लक्ष्य ९ लाख ३५ हजार टन, २ वर्षमा आयो ३०
हजार टन, https://abhiyandaily.com/
गिरि, कृष्ण -२०८१_ = आधुनिक
प्रविधिका लागि भन्सार सहुलियत नहुनु प्रमुख समस्या, https://abhiyandaily.com/article/60-trkaarii-r-phlphul-aayaat.
नेपाल
लाइभ -२०७९_ = ७ महिनामा ३०
अर्बको तरकारी र फलफूल आयात, https://nepallive.com/story/302140
निकासी प्रवद्र्धन केन्द्र (२०११) = नेपालको
खाद्य अवस्था ,नागरिक दैनिक अंक १२
भण्डारी, शशिधर
-२०८०_= नेपालमा खाद्य
असुरक्षा र परनिर्भरताको प्रश्न= https://nayayougbodh.com/opinion/2023/08/06/218007
राई, कला -२०७९_=
बीउमा परनिर्भर बन्दै देश स् ८६ करोड तरकारीको बीउ आयात हुँदा धानको मात्र १ अर्ब
१७ करोड = https://halokhabar.com/news-details/11803/2022-08-29
रेग्मी, सुमन कुमार -२०७९_ = खाद्यान्न
आयातको व्यापार खाडल= https://nagariknews.nagariknetwork.com/
No comments:
Post a Comment