Tuesday 5 October 2021

सामाजिक वर्ग के हो र यसको मापन कसरि गर्ने ? (१)

 

                                            

समान विशेषता वा गुण भएका व्यक्ति, जनावर, वस्तु आदिको समूहलाई वर्ग भनिन्छ । विद्यार्थीको वर्ग, किसानको वर्ग, मजदुरको वर्ग, महिला वर्ग, जनावरहरूको वर्ग आदि यसका उदाहरण हुन् । समाजशास्त्र र मानवशास्त्रमा समान आर्थिक हैसियत, आम्दानी, खर्च, पेसा, जीवनशैली, जीवनका अवसरहरू, इज्जत, शक्ति वा अधिकार भएका मानिसहरूको समूहलाई सामाजिक वर्ग भनिन्छ । सामाजिक वर्ग निर्माणको आधारका बारेमा समाजशास्त्री र मानवशास्त्रीहरूको बीचमा एक मत छैन । कार्ल माक्र्सलगायतका दार्शनिकहरू आर्थिक पक्षलाई मात्र वर्ग निर्माणको आधार मान्दछन् भने म्याक्स वेबरले अधिकार, शक्ति, पद तथा जीवनस्तरजस्ता पक्षहरूलाई वर्ग निर्मँणको आधार मान्दछन् । वर्ग निर्माणको जुनसुकै आधार भए पनि यसले समाजका सदस्यहरूलाई उच्च र निम्नको स्तरहरूमा विभाजित गर्दछ जसको कारण समाज विभिन्न स्तरमा स्तरीकृत हुन पुग्दछ । त्यसैले वर्गलाई सामाजिक स्तरीकरणको प्रमुख पक्षको रूपमा लिने गरिन्छ । यसर्थ, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक, शैक्षिकलगायतका विभिन्न पक्षको आधारमा समाजलाई विभिन्न स्तरहरूमा स्तरीकृत गर्ने व्यवस्थालाई सामाजिक वर्ग भनिन्छ । 

वर्गलाई विभिन्न समाजशास्त्री तथा मानवशास्त्रीहरूले आआफ्नै  तरीकाले परिभाषित गरेका छन् । मार्क्सका अनुसार, “आर्थिक उत्पादनका साधनहरूमा समान सम्ब्नध राख्ने मानिसहरूको समूह नै वर्ग हो । त्यस्तैगरी वेबरका अनुसार, “व्यक्तिहरूको समूह जसले वस्तु प्राप्तिमा समान अवसर र एकै खालको जीवन स्तर यापन गर्दछन् भने त्यही नै सामाजिक वर्ग हो । अग्बर्न र निम्कोफका अनुसार, “कुनै समाजमा समान सामाजिक हैसियत भएका व्यक्तिहरूको समग्रता नै सामाजिक वर्ग हो ।लेपियरका अनुसार, “सामाजिक वर्ग भनेको एउटा सांस्कृतिक समूह हो । जसलाई सम्पूर्ण जनसङ्ख्यामा एउटा विशेष स्थिति अथवा पद प्रदान गरिन्छ ।त्यस्तै गरि टेलरका अनुसार, “सामाजिक वर्ग भनेको समाजमा रहेको यस्तो वर्ग हो जो समाजमै रहेका अन्य वर्गहरूभन्दा सामाजिक र आर्थिकस्तरको कारणले फरक हुने गर्दछ ।त्यस्तै बेथ पोटियर (२००३) का अनुसार, मध्यम वर्ग वर्तमान समाजको एक बृहत्तर समुह हो जुन सामाजिक-आर्थिक हिसाबले कामदार वर्ग र उच वर्गको विचमा पर्दछ l मार्क्सले मध्यम वर्गलाई बुर्जुवा वर्गको एक भाग अर्थात पेटी बुर्जुवा वा सानो ब्यापारिक समुह भनेका छन् जुन सर्बहारा र पुजीपतिको विचमा पर्दछ l

अमेरिकि मार्क्सवादी समाजशास्त्री इरिक ओलिन राईटले सन् १९८० को दसकमा वर्गलाई फरक धारणाको आधारमा ब्याख्या गरेका थिए l उनले जनताको भौतिक रुची, जीवन्त अनुभव, जीवनको अवस्था, आय, सागठानिक क्षमता र सामुहिक कार्यमा सम्लंगनता तथा राजनीतिक सिकाईले वर्गलाई असर गर्ने उल्लेख गरेका छन् । राइटका विभिन्न पुस्तक मध्ये "How to Be an Anti-Capitalist for the 21st Century, 2018" भन्ने पुस्तक अति महत्वपूर्ण मानिन्छ जसमा उनले गरिबी, बेरोजगारी र आर्थिक असमानताको उल्लेख गर्दै सामाजिक वर्गको नविन विश्लेषण र पूँजीवादको विकल्प को रूपमा समाजवादलाई उल्लेख गरिएको छ । उनले उत्पादनको सामाजिक सम्बन्ध र त्यस्तो सम्बन्धको आधारमा निर्मित वर्ग र त्यसका जटिलताको सुक्ष्म र बृहत्तर विश्लेषण गरेका छन् l यी मध्ये मार्क्सवादी धारणालाई आधार मानि यो लेख तयार गरिएको छ l यो लेखले विश्व स्तरमा मध्यम वर्गको बढ्दो उपस्थिति र नेपालको वर्ग विश्लेषणमा मध्यम वर्गको अवस्थाको वारेमा उल्लेख गर्ने कोशिस गरेको छ l

सामाजिक वर्गको मापन

सामाजिक वर्गको मापन गर्ने विभिन्न तरिकाहरु छन् जसमा आम्दानी, खर्च , जायजेथा , समाजमा रहेको हैसियत, शक्तिको प्रयोग आदि मुख्य हुन् l यी विभिन्न तरिका मध्ये सामाजिक तुलना सिद्धान्त एक महत्वपूर्ण तरिका हो जसले उपभोक्ताहरुको मनोवैज्ञानिक पक्ष्यको विश्लेषण गर्दछ l यसले उपभोक्ताहरूको दिमागी  स्थिति कसरी चल्दछ भन्ने कुरा बुझ्ने  कोशिस गर्दछ l यो एक सामाजिक मनोवैज्ञानिक अवधारणा पनि हो जसले के विश्वास गर्दछ भने व्यक्तिले सामान्य रूपमा आफ्नो भौतिक सम्पत्ति अरूको स्वामित्वमा भएका व्यक्तिहरूको सम्पत्तिसँग तुलना गर्दछ जसले उनीहरूको सापेक्ष सामाजिक स्थिति निर्धारण गर्दछ जुन  स्थिति प्राय: उपभोक्ता खरीद शक्तिसँग सम्बन्धित रहेको हुन्छ । यो सिद्धान्तका अनुसार, उपभोक्ताले उपभोगको माध्यमबाट आफ्नो सामाजिक स्थिति बढाउन प्रयास गर्दछ र  मूल्यवान विलासिताका सामानहरू खरिद गरि त्यसलाई देखाउने प्रयास गर्दछ l

सामाजिक वर्ग मापनको तरिका

व्यक्तिहरूलाई उनीहरूको पेशा, आम्दानीको स्तर, परम्परागत सम्पत्ति आदिको आधारमा वर्गीकृत गरिन्छ l सामान्यतया सामाजिक वर्गहरु निम्नानुसारका हुन्छन ।

·         माथिल्लो वर्ग – उद्द्योगी , ब्यबसायी, पुजीपति, सामन्त , उच्च ओहोदाका व्यक्तिहरु

·         उच्च मध्यम वर्ग -  पेशेवर व्यक्तिहरु, उच्च कमाइ भएका डाक्टर, इन्जीनियर, सचिब आदि

·         तल्लो मध्यम-वर्गीय - कुशल कामदारहरू , केहि जमिनका मालिकहरु, उच्च पदस्थ कर्मचारीहरु आदि

·         कुशल श्रमिक वर्ग - प्रशिक्षित कुशल कामदारहरू प्लंबर, इलेक्ट्रिशियनहरू, मध्यम कर्मचारीहरु आदि

·         कामदार  वर्ग - अकुशल कामदारहरू मजदुरहरू, खेतमा  काम गर्ने व्यक्तिहरु आदि

·        गरिब, बेरोजगार व्यक्तिहरु

कतिपय समाज शास्त्रीहरुले यी वाहेक अन्य तरिकाले पनि सामाजिक वर्गको वर्गीकरण गरेका छन् l सामान्यतया वर्गको मापन गर्ने निम्न दुइ तरिकाहरु छन् :

१.     व्यक्तिपरक उपाय

व्यक्तिहरूमा तिनीहरूको आफ्नै सामाजिक-वर्ग स्थिति अनुमान गर्न विभिन्न प्रश्नहरु सोधिन्छ र त्यसको आधारमा वर्गको पहिचान गरिन्छ l वर्गको स्व-घोषणा गर्ने यस विधिमा आम्दानी , खर्च, सम्पत्ति, पेशा, ब्यबसाय आदि लाइ आधार मानिन्छ l यो तरिकाको आधारमा निम्न वर्गहरु हुने गर्दछन :

·         निम्न गरिब  वर्ग

·         तल्लो-मध्यम वर्ग

·         उच्च-मध्यम वर्ग

·         माथिल्लो वा धनि वर्ग

·         वर्ग थाहा नभएको समुहहरु

२.     उद्देश्य परक उपायहरू

व्यक्तिपरक विधीहरूको विपरित, यो विधिले समुदायका सदस्यहरूको जनसांख्यिकीय, सामाजिक, शैक्षिक तथा आर्थिक चरहरू समावेश गरि वर्गको खोजि गरिन्छ । यी चरहरू प्रश्नावली मार्फत मापन गरिन्छ जसले उत्तरदाताहरूलाई आफ्नो, उनीहरूको परिवार, वा उनीहरूको निवास स्थान, पेशा, आय शिक्षा आदिको बारेमा धेरै वास्तविक प्रश्नहरू सोध्छन् र उत्तरको विश्लेषण गर्दछन l यसले निम्न चरहरुलाइ वर्गको विश्लेषण गर्न प्रयोग गर्दछ :

·         पेशा

·         शिक्षा

·         आय

·         व्यय

·         भौतिक सम्पति

·         जग्गा, सुन, घरको अवस्था आदि

·         समग्र-चर अनुक्रमणिका

·         स्थिति विशेषताहरूको सूचकांकहरु

·         सामाजिक आर्थिक स्थिति स्कोर , आदि (हैरिसन, २०१६)

माथि उल्लेखित विभिन्न तरिकाहरुले वर्गको मापनमा केहि सघाउ पुराउछन तर वर्तमानमा यसका अन्य विभिन्न तरिकाहरु पनि विकास गरिएको छ l (बाँकी अर्को अंकमा)

References

Harrison, C. (2016). Market research and its limitations, retrieved from https://om/slide/860065slideplayer.c6/

Beth Potier, B. (2003). Middle income can't buy Middle class lifestyle,  Harvard Gazette. Archived from the original on June 23, 2006. http://www.news.harvard.edu/gazette/2003/10.30/19 -bankruptcy.html

Wright, E. O. (2018). How to be an anti-capitalist for the 21st century, retrieved from https://www.ssc.wisc.edu › ~wright › How to be a

 

No comments:

Post a Comment