Wednesday 15 July 2020

कुसुन्डा जातिको अध्ययन



कुसुन्डा अध्ययनको पृष्ठभूमि 
सन् १९५० भन्दा अघि पश्चिमी विश्वलाई नेपाल अध्ययनको अनुमति थिएन । राणाकालिन अवधिको रुपमा समेत लिइने यो अवधिमा नेपालको सम्बन्ध ब्रिटिस– भारतको निर्देशनमा संचालित थियो । यो अवधिमा ब्रिटिस सरकारका उच्च पदाधिकारीले नेपालको भ्रमण र अध्ययन गर्दथे । ब्रिटिस पदाधिकारी मध्येका एक ब्राइन हडसन  ले सर्वप्रथम नेपालका कुसुन्डा जातिको बारेमा सन् १८४८ मा एक लेख  लेखि छपाइएका थिए । चेपाङ र कुसुन्डालाई एकै ठाउँमा राखी लेखीएको उन्को लेखमा चेपाङ र कुसुन्डालाई जङ्गलमा चहारी हिड्ने जातिको रुपमा उल्लेख गरिएको थियो । त्यसपछि कुसुन्डाको बारेमा कलम चलाउने विद्वानमा क्याप्टेन सि.जे.एफ.फोरवेस पर्दछन् जसले सन् १८७७ मा चेपाङ, कुसुन्डा र अन्य तिब्बत–बर्मन भाषिक समूह बीचको सम्बन्धको बारेमा उल्लेख गरेका थिए । उन्को लेखमा  कुसुन्डा र अन्य पहाडी जातिको भाषामा निकटता रहेको उल्लेख गरिएको थियो। सन् १९०९ मा प्रकाशितमा स्टेन कोनो को लेखले कुसुन्डा भाषालाई तिब्बती–वर्मन समुदायको भाषाको रुपमा उल्लेख गरेको छ  । 

कुसुन्डाको बारेमा विस्तृत रुपमा अध्ययन गरि रिपोर्ट प्रकाशित गर्ने अर्काे विद्वानमा जोन रेनहार्ड हुन् जसले सन् १९६८ मा कुसुन्डाको बारेमा विस्तृत अध्ययन गर्नुका साथै गोर्खा, तनहु र सुर्खेतमा कुसुन्डा रहेको तथ्य सार्वजनिक गरे । पछि सन् १९७० मा  त्रिभुवन विश्व विद्यालयले रेनहार्ड र जापानी भाषाविद तोवाको सहयोगमा लेखिएको कुसुण्डा भाषा को ब्याकरण प्रकाशन  गर्यो । यस पछि पनि कुसुन्डा भाषाको बारेमा विभिन्न विद्वानहरुले विभिन्न ढंगले अध्ययन गरी लेखहरुको प्रकाशन गरेका छन् । कुसुन्डा भाषाको बारेमा अध्ययन गर्ने मुख्य भाषाविदहरुमा चुडामणी बन्धु (१९८५), हवाइट हाउस र उनका साथिहरु , माधव पोख्रेल (२०१२) डेभिड ई.वाटर्स , गणेशमान  गुरुङ , भोजराज गौतम, उदयराज आले, तथा गोकर्ण ज्ञवाली  (म स्वयम् ) ले कुसुन्डा भाषा र यिनीहरुको अन्य पक्षको बारेमा अध्ययन गरेका थिए । यसको साथै अन्य कतिपय विदेशी भाषाविदहरुले पनि कुसुण्डा भाषाको बारेमा प्रसस्त अध्ययन गरेका छन्।   यि धेरै जसो अध्ययन मूलतः भाषासँग सम्बन्धित भएकोले यिनीहरुमा कुसुन्डा संस्कृतिको बारेमा खासै उल्लेख गरेको पाइदैन । कुसुण्डा जातिको सामाजिक, सांस्कृतिक, आर्थिक लगायत सबै पक्ष्यको वारेमा अध्ययन  भने यसमा पी एच डी  गर्ने गोकर्ण ज्ञवाली नै हुन्।  उनले कुसुन्डा जातिको सामाजिक, सांस्कृतिक, भाषीक र आर्थिक पक्षको बारेमा विस्तृत अध्ययन गरि  त्रि. वि. वाट पि. डी. गरेका थिय।  

जंगली अवस्था वाट ब्यबस्थित जीवनमा रुपान्तरण हुने जातिको रुपमा कुसुण्डा पछिल्लो जाति हो अव राउटे उक्त प्रक्रिया मा रहेका छन्।  रुपान्तरित जीवनको अध्ययन गर्नेहरुका लागि कुसुण्डा एक महत्वपुर्ण जाति हुन सक्छ। सन् १९७०को दशकदेखि ब्यबस्थित जीवनमा प्रवेश गरेका कुसुण्डा जातिले राज्यका विभेदकारी नीतिको कारण सधै शरणार्थीको रुपमा जीवन व्यथित गर्नु पर्यो l पछिल्लो अवधिमा मात्र राज्यले जनता आवास कार्यक्रम अन्तर्गत घर बनाइ दिने योजना अघि सारेपछि मात्र कुसुण्डाले स्थाई बसोबास गर्न थालेका हुन् l हाल यिनीहरुको जनसंख्या १५१ रहेको छ तर केन्द्रीय तथ्यांक विभागका अनुसार भने यिनीहरुको जनसंख्या २७३ रहेको छ l 


No comments:

Post a Comment