Wednesday 31 August 2022

नेपाली समाजको वर्ग विश्लेषण र मध्यम वर्ग (२)

 

परिचय

समान विशेषता वा गुण भएका व्यक्ति, जनावर, वस्तु आदिको समूहलाई वर्ग भनिन्छ । विद्यार्थीको वर्ग, किसानको वर्ग, मजदुरको वर्ग, महिला वर्ग, जनावरहरूको वर्ग आदि यसका उदाहरण हुन् । समाजशास्त्र र मानवशास्त्रमा समान आर्थिक हैसियत, आम्दानी, खर्च, पेसा, जीवनशैली, जीवनका अवसरहरू, इज्जत, शक्ति वा अधिकार भएका मानिसहरूको समूहलाई सामाजिक वर्ग भनिन्छ । सामाजिक वर्ग निर्माणको आधारका बारेमा समाजशास्त्री र मानवशास्त्रीहरूको बीचमा एक मत छैन । कार्ल माक्र्सलगायतका दार्शनिकहरू आर्थिक पक्षलाई मात्र वर्ग निर्माणको आधार मान्दछन् भने म्याक्स वेबरले अधिकार, शक्ति, पद तथा जीवनस्तरजस्ता पक्षहरूलाई वर्ग निर्माणको आधार मान्दछन् । वर्ग निर्माणको जुनसुकै आधार भए पनि यसले समाजका सदस्यहरूलाई उच्च र निम्नको स्तरहरूमा विभाजित गर्दछ जसको कारण समाज विभिन्न स्तरमा स्तरीकृत हुन पुग्दछ । त्यसैले वर्गलाई सामाजिक स्तरीकरणको प्रमुख पक्षको रूपमा लिने गरिन्छ । यसर्थ, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक, शैक्षिकलगायतका विभिन्न पक्षको आधारमा समाजलाई विभिन्न स्तरहरूमा स्तरीकृत गर्ने व्यवस्थालाई सामाजिक वर्ग भनिन्छ । वर्गलाई विभिन्न समाजशास्त्री तथा मानवशास्त्रीहरूले आआफ्नै  तरीकाले परिभाषित गरेका छन् । मार्क्सका अनुसार, “आर्थिक उत्पादनका साधनहरूमा समान सम्ब्नध राख्ने मानिसहरूको समूह नै वर्ग हो । त्यस्तैगरी वेबरका अनुसार, “व्यक्तिहरूको समूह जसले वस्तु प्राप्तिमा समान अवसर र एकै खालको जीवन स्तर यापन गर्दछन् भने त्यही नै सामाजिक वर्ग हो । अग्बर्न र निम्कोफका अनुसार, “कुनै समाजमा समान सामाजिक हैसियत भएका व्यक्तिहरूको समग्रता नै सामाजिक वर्ग हो ।लेपियरका अनुसार, “सामाजिक वर्ग भनेको एउटा सांस्कृतिक समूह हो । जसलाई सम्पूर्ण जनसङ्ख्यामा एउटा विशेष स्थिति अथवा पद प्रदान गरिन्छ ।त्यस्तै गरि टेलरका अनुसार, “सामाजिक वर्ग भनेको समाजमा रहेको यस्तो वर्ग हो जो समाजमै रहेका अन्य वर्गहरूभन्दा सामाजिक र आर्थिकस्तरको कारणले फरक हुने गर्दछ ।त्यस्तै बेथ पोटियर (२००३) का अनुसार, मध्यम वर्ग वर्तमान समाजको एक बृहत्तर समुह हो जुन सामाजिक-आर्थिक हिसाबले कामदार वर्ग र उच वर्गको विचमा पर्दछ l मार्क्सले मध्यम वर्गलाई बुर्जुवा वर्गको एक भाग अर्थात पेटी बुर्जुवा वा सानो ब्यापारिक समुह भनेका छन् जुन सर्बहारा र पुजीपतिको विचमा पर्दछ l

अमेरिकि मार्क्सवादी समाजशास्त्री इरिक ओलिन राईटले सन् १९८० को दसकमा वर्गलाई फरक धारणाको आधारमा ब्याख्या गरेका थिए l उनले जनताको भौतिक रुची, जीवन्त अनुभव, जीवनको अवस्था, आय, सागठानिक क्षमता र सामुहिक कार्यमा सम्लंगनता तथा राजनीतिक सिकाईले वर्गलाई असर गर्ने उल्लेख गरेका छन् । राइटका विभिन्न पुस्तक मध्ये “२१ औ शताब्दीका लागि कसरि पुजिवाद विरोधी बन्न सकिन्छ” (How to Be an Anti-Capitalist for the 21st Century) भन्ने पुस्तक अति महत्वपूर्ण मानिन्छ जसमा उनले गरिबी, बेरोजगारी र आर्थिक असमानताको उल्लेख गर्दै सामाजिक वर्गको नविन विश्लेषण र पूँजीवादको विकल्पको रूपमा समाजवादलाई उल्लेख गरिएको छ । उनले उत्पादनको सामाजिक सम्बन्ध र त्यस्तो सम्बन्धको आधारमा निर्मित वर्ग र त्यसका जटिलताको सुक्ष्म र बृहत्तर विश्लेषण गरेका छन् l यी मध्ये मार्क्सको धारणालाई आधार मानि यो लेख तयार गरिएको छ l यो लेखले विश्व स्तरमा मध्यम वर्गको बढ्दो उपस्थिति र नेपालको वर्ग विश्लेषणमा मध्यम वर्गको अवस्थाको वारेमा उल्लेख गर्ने कोशिस गरेको छ l

विश्व स्तरमा मध्यम वर्ग

विश्व स्तरमा मध्यम वर्गको संख्या दिनानुदिन बढी रहेको छ l वाशिंगटन पोस्टले गरेको एक सर्भेक्षण अनुसार, हाल विश्वमा ३.७ विलियन अर्थात करिव ४८ प्रतिशत मानिसहरु मध्यम वर्गमा पर्दछन l सन् २०१५मा मध्यम वर्गको जनसंख्या १.३८ बिलियन रहेकोमा सन् २०३० मा यो ३.४९ बिलियन पुग्ने अनुमान गरिएको छ l  अमेरिका र चीनमा लगभग आधा जनसंख्या मध्यम वर्गमा रहेको मानिन्छ l नलेज फर पोलिसी रिसर्च  (knowledge4policy.ec.europa.eu) भन्ने संस्थाले सन् २०२० मा गरेको अनुसन्धान अनुसार, अहिलेको मध्यम वर्ग मध्ये २५% सम्पन्न देशहरुमा बस्दछन् भने ४० % ब्राजिल, रुस, भारत र चीनमा बस्दछन् l ब्रिक (BRIC) देशहरुमा सन् २००० मा G – 7 रास्ट्र मा भएको आधा मात्र मध्यम वर्गमा थियो भने हाल त्यो दुइगुना भएको छ र यो अझ बढ्दो छ l त्यस्तैगरी, सन् २०३० मा विश्वको ६६ % मध्यम वर्ग एशियामा रहने अनुमान गरिएको छ र अहिले त्यो अमेरिकामा सबैभन्दा बढी र त्यस पछी चीनमा रहेको छ l त्यस्तै सन् २०३० मा चीनको ७० % जनसंख्या मध्यम वर्गमा जाने छ जसले १० त्रिलीयन डलर बराबरको वस्तु र सेवाको उपयोग गर्ने छ र भारत विश्वकै सबै भन्दा ठुलो मध्यम वर्गीय बजार हुने छ जसले चिन र अमेरिका दुबैलाई उछिन्ने छ l अहिले सम्पन्न रास्ट्रमा मध्यम वर्गको वृद्धि दर ०.५-१ % मात्र छ तर विकासशिल रास्ट्रमा यो दर ६% भन्दा बढी छ l  यो तथ्यांकले के देखाउछ भने विश्वमा मध्यम वर्गको वृद्धि दर अत्यन्त तिब्र रहेको छ त्यसमा पनि छिमेकी रास्ट्र चिन र भारतमा यो अत्यधिक रहेको छ जसले नेपालको मध्यम वर्गको विकासमा पनि प्रभाव पार्ने देखिन्छ l  

वर्गको आधारमा सिर्जित विभाजन

माथि उल्लेखित वर्गको प्रकारको आधारमा कुनै पनि समाजमा वर्गले व्यक्तिहरूलाई धनीगरिब, हुने नहुने, उच्चमध्यम र निम्नलगायतका स्तरहरूमा वर्गीकृत गर्दछ । समाजमा वर्गले विभाजन मात्र गर्दैन यसले वर्गबीचका विभिन्नतालाई पनि इङ्गित गर्दछ । उच्चवर्ग, मध्यम वर्ग र निम्न वर्गको बीचमा वर्गीय विभाजन मात्र नभएर सांस्कृतिक, सामाजिक, राजनीतिक, मनोवैज्ञानिक लगायतका भिन्नतामा पनि रहेका हुन्छन् । वर्गले वर्गीय चरित्र, वर्गीय चिन्तन तथा वर्गीय व्यवहारलाई समेत देखाउने गर्दछ । अर्थतन्त्रले वर्गको निर्धारण गर्दछ जसले समाजमा बस्ने मानवलाई विभिन्न तह र स्तरहरूमा विभाजन गरेको हुन्छ ।

विश्वबैंकले (२०२१) मा गरेको वर्गीकरणमा उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न गरी संसारभरिका मुलुकलाई चार आय वर्गमा वर्गीकरण गर्दै आएको छ। १ हजार ३६ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकहरू न्यून आयवर्गमा पर्छन्। त्यसभन्दा माथि ४ हजार ९५ अमेरिकी डलरसम्म आम्दानी हुनेलाई निम्नमध्यम आयवर्गमा राखिएको छ। ४ हजार ९६ देखि १२ हजार छ सय ९५ अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय हुनेलाई उच्च मध्यम वर्ग र त्यसमाथि जति पनि आय हुनेलाई उच्च आय वर्गमा राखेको छ l अक्स्फार्म (२०२०) ले सार्बजनिक गरेको एक प्रतिवेदन अनुसार, विश्वका १% धनि व्यक्तिको मातहतमा ६.९ बिलियन मानिसको भन्दा दुइगुना बढी सम्पत्ति केन्द्रित छ र विश्वको आधा जनसंख्या प्रतिदिन ५.५० डलर भन्दा कममा जीवन यापन गरिरहेका छन् l त्यस्तैगरी, विश्वका जम्मा आठ जना व्यक्तिहरुले विश्वको कुल सम्पत्तिको ५० % भन्दा बढी आफ्नो कब्जामा राखेका छन् l यो तथ्यांक युएनडिपी सन् २००० को शुरुआतताका प्रकाशित गरेको तथ्यांक भन्दा फरक देखिदैन l उक्त तथ्यांक अनुसार, विश्वका सबै भन्दा धनि २० प्रतिशत मानिसहरुसंग संसारको ८२.७ प्रतिशत सम्पत्ति रहेको छ सबै भन्दा गरिव २० प्रतिशत संग जम्मा १.२ प्रतिशत सम्पत्ति रहेको छ l  यसले पुजिवाद भित्रको वर्गअन्तर र वर्ग विभेदलाई स्पष्ट देखाउँछ । यो अन्तर जति बढ्दै जान्छ त्यतिनै मात्रामा सर्वहाराकरण , कंगालिकरण हुदै सर्वहारा वर्ग निर्माणको प्रक्रिया तिब्र बन्न पुग्दछ l

नेपाली समाजमा वर्गिय विभाजन

नेपालि समाज बहु-उत्पादन स्वरुपको उदाहरण हो जहाँ आदिम शिकार- संकलित राउटे देखि ग्रामिण क्षेत्रमा रहेको सामन्तवाद र शहरी क्षेत्रमा विकसित पूजीवादको संगम हो l ग्रामिण कृषिमा आधारित उत्पादन स्वरुपमा मध्यम वर्गको उपस्थिति बलियो छ भने सहरी क्षेत्रमा विकसित पुजिवादी उत्पादन स्वरुपले मजदुर वर्ग र निम्न पुजिवादी वर्गको निर्माण गरेको छ l  मार्क्सले बहु- उत्पादन पद्दतिको निकै ब्याख्या गरेका छन् र त्यस्तो उत्पादन पद्धतिहरू भएको समाजलाई विश्लेषण गर्ने सम्बन्धमा मार्क्सको धारणा निकै स्पष्ट देखिन्छ l  मार्क्सका अनुसार, उत्पादनका विभिन्न रूपहरू मध्ये एउटा विशिष्ट हुन्छ, त्यसले नै उत्पादनका अन्य रूपहरूलाई अधीनमा पार्छ । त्यसका सम्बन्धहरूले अरु उत्पादनका स्तर र प्रभावलाई निर्धारित गर्छन् । त्यसरी नै  नेपाली समाज पनि सामन्तवादको अन्त्य भै पूँजीवादी समाज तर्फ रूपान्तरित भएको छ । विश्वब्यापीकरणको बढदो प्रभाव र रेमिटान्समा आधारित अर्थतन्त्रले मध्यम वर्ग र पुजिवादी उत्पादन स्वरुपको विकासमा मद्धत गरि रहेको छ l मध्यम वर्गको तिब्र विकास सगै नेपाली समाजमा धनी र गरिब बीचको वर्गीय विभाजन तिव्र रूपमा बढिरहेको छ । पूँजीका स्रोत, उत्पादनशील क्षेत्र, प्रशासनका उच्च ओड्दा तथा सरकार संचालनमा उच्च वर्गकै हालिमुहाली रहेको छ । नेपालमा अहिले सामन्तवाद, अर्ध-सामन्तवाद वा पुजिवाद के छ भन्नेमा लामो विवाद रहेको छ l 

पुष्पलालले २००६ सालमा प्रस्तुत गरेको दस्तावेजमा सामन्ती, भूमिपति, उदार पुँजीपति, ठूला पुँजीपति, राष्ट्रिय पुँजीपति, निम्न पुँजीपति, धनी किसान, मध्यम किसान, भूमिहीन, र मजदुरहरू रहेको उल्लेख गरेका थिए । पुष्पलालले उल्लेख गरेको यो वर्ग विश्लेषण तत्कालिन नेपालि समाजको सन्दर्भमा भन्दा पनि चिनमा माओत्सेतुङले सन १९२६ र सन् १९३३ मा गरेको वर्ग विश्लेषणलाइ आधार मानी गरिएको पाइन्छ । त्यसपछि नेकपा (माले) ले २०४६ सालमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपाली समाजलाइ अर्ध-सामन्ती भनि उल्लेख गरेको छ भने २०७१ को प्रतिवेदनमा सामन्तवाद वाट पुजिवाद मा रुपान्तरण भै रहेको उल्लेख गरिएको पाइन्छ । तत्कालिन नेकपा माओवादी केन्द्रले सशस्त्र संघर्षको निशानामा सामन्त, जमिनदार, नोकरशाह, र दलाल पुँजीपति वर्गलाइ राखेको थियो र प्रेरक शक्ति भनेर सर्वहारा, खेतमजदुर, मध्यम किसान, धनी किसान, निम्न पुँजीपति वर्ग र राष्ट्रिय पुँजीपति वर्गलाइ राखेको थियो (खनाल,२०७६) l

नेपाली समाजको वर्गीयस्वरूपको बारेमा डेबिड सेडन, जोन क्यामरुन र पायर्स ब्ल्याकीहरूले नेपालमा सङ्कट (Nepal in Crisis) नामक कृति (१९८०) मा नेपालको वर्गीय अवस्थालाइ निम्नानुसार वर्गीकरण गरेका छन् ।

क)     कुलीन वर्ग : यस वर्गअन्तर्गत राजा, राजपरिवार, भाइभारदार र उच्च वर्गका राणाहरू, सेनाका उच्च पदस्थ व्यक्तिहरू, उद्योग तथा पर्यटन क्षेत्रमा विभिन्न तारे स्तरका होटल सञ्चालकहरू आदि पर्दछन् । यस वर्गको सामाजिक, आर्थिक, राजनैतिक हैसियत तथा भूमिका उच्च रहेको उनीहरूको विश्लेषण रहेको थियो l  

ख)    बुर्जुवा वर्ग : यस वर्ग अन्तर्गत ठूला साहूमहाजन, ठूला उद्योगपति, ठूला भूमिपतिहरू आदि पर्दछन् । यिनीहरुसँग उत्पादनका साधनहरू प्रशस्त हुन्छन र नाफा कमाउने उद्देश्यबाट लगानी गरिरहेका हुन्छन ।

ग)     मध्यम वर्ग : मध्यम वर्गअन्तर्गत अधिकृत तहका कर्मचारीहरु , डाक्टर, इन्जिनियर, वकिल, प्राध्यापक, प्रशासकहरू जस्ता पेसागत वर्गका मानिसहरु पर्दछन् ।

घ) निम्न मध्यम वर्ग : यस वर्गअन्तर्गत ससाना पसले, सहायक स्तरका कर्मचारी, लेखनदास, विद्यालयका शिक्षकहरू, निम्नस्तरका कारीगर र मध्यम स्तरका जनशक्ति पर्दछन् । यिनीहरू आर्थिक क्रियाकलापबाट बचत गर्न नसक्ने तर जीविका गर्न सक्ने वर्ग हुन् ।

ङ)     कृषक वर्ग : यस वर्गअन्तर्गत धनी, मध्यम तथा सानाखाले सबै किसानहरू पर्दछन् । आफूसँग जग्गा जमिन पनि भएका र अरूको जग्गामा काम गर्न जाने कृषकहरु पनि पर्दछन् ।

च)     ग्रामीण तथा औद्योगिक सर्वहारा वर्ग : यसअन्तर्गत पियन, कुचीकार, भरिया, होटलका तल्लो स्तरका श्रमिक, साना तथा ठुला उद्दोगमा काम गर्ने मजदुरहरु र सडक तथा राजमार्ग निर्माणमा संलग्न कामदारहरू पर्दछन् । यिनीहरुको यो वर्ग विश्लेषणलाइ आर्थिक वर्गको रुपमा ब्याख्या गर्दा जम्मा तिन वर्गहरु देखा पर्दछन : उच्च् धनि सामन्त र पुजिवादी वर्ग, मध्यम वर्ग र निम्न स्तरका कामदार वर्ग l  

पछिल्ला अध्ययनहरुले वर्गलाई प्रति व्यक्ति आम्दानीको आधारमा विभाजित गरेको देखिन्छ l एसियाली विकास बैँकको प्रतिवेदन (२०१२) अनुसार, प्रति दिन दुइ डलर भन्दा कम आय भएका गरिबको संख्या २१.७ प्रतिशत, २-९ डलर कमाउनेको संख्या ७४.८ प्रतिशत, १०-१९ डलर कमाउनेको संख्या ३.१ प्रतिशत , २०-५० डलर कमाउनेको संख्या ०.३ प्रतिशत र ५० डलर भन्दा बढी कमाउनेको संख्या जम्मा ०.१ प्रतिशत रहेको छ l त्यस्तै, हामी, साफे र अक्स्फार्मले संयुक्त रुपमा प्रकाशन गरेको एक प्रतिवेदन २०१९ का अनुसार, नेपालका १० प्रतिशत धनी मानिससँग ४० प्रतिशत गरिब जनसङ्ख्यासँग भन्दा २६ गुना बढी सम्पत्ति छ । सन् २०१८ मा नेपालको सबैभन्दा धनी व्यक्तिको सम्पत्ति २० करोड अमेरिकी डलर बराबरले  वृद्धि भयो । यो सन् २०१७ को भन्दा १४ प्रतिशतले बढेर १ अरब ५० करोड अमेरिकी डलर बराबर पुग्यो । यसले के देखाउछ भने नेपालमा पूजीको केन्द्रीकरण तिब्र रुपमा भएको छ र गरिवको संख्यामा निकै वृद्धि भएको छ l नेपालमा पनि निम्न मध्यम वर्ग र निम्न वर्गको जनसंख्या निकै ठुलो रहेको छ l एसियाली विकास बैँकको प्रतिवेदन (२०१०) ले कमाइका आधारमा नेपालमा ६१ लाख ३० हजार अर्थात् कुल जनसंख्याको २३ दशमलव ४ प्रतिशत मध्यमवर्गीय परिवार रहेको देखाएको छ। यस प्रतिवेदनले दैनिक १ सय ५० देखि १ हजार ५ सय रुपियाँसम्म कमाउने व्यक्तिलाई मध्यमवर्गीय भनी उल्लेख गरेको छ । मध्यमवर्ग लाई पनि आम्दानीकै आधारमा तीन तहमा छुट्याएर राखेको छ । दैनिक प्रतिव्यक्ति आम्दानी  रु. १५०-३०० सम्मको  तल्लो मध्यम वर्ग जुन ७३.१ प्रतिशत रहेको छ भने  रु. ३०१-७५० बीचको वर्ग जुन २३.८ प्रतिशत रहेको छ त्यस्तै  रु. ७५१-१५०० मासिक आम्दानी हुने माथिल्लो वर्ग जसको जनसंख्या ३.२० प्रतिशत रहेको छ l सन् २०१६ मा नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको प्रतिवेदनका अनुसार नेपालमा करिब ३५ प्रतिशत मध्यम वर्गीय नागरिक रहेका देखिन्छ । जाति र जन-जाति तथा जातको रुपमा नेपालजस्तो सांस्कृतिक विविधता भएको मुलुकमा कुन जातिभित्र मध्यमवर्गीय परिवार बढी छन्, कुन जातिभित्र कम छन् भन्ने पहिचान भएको छैन र यो अनुसन्धानको बिषय नै रहेको छ । तैपनि, नोकरी र विभिन्न व्यवसायमा संलग्न व्यक्तिहरू मध्यम वर्ग भित्र पर्छन् भनी सजिलै अनुमान गर्न सकिन्छ । सरकारी तथ्यांकलाई मात्र आधार मान्ने हो भने पनि हाल नेपालको १८ प्रतिशत प्रति दिन १.९० डलर कमाउने र गरिबीको रेखा मुनि रहेको छ l

बढदो मध्यम वर्ग

सामान्य रुपमा हेर्दा मध्यम वर्गमा पढे लेखेका र पेशागत क्षेत्रमा रहेका व्यक्तिहरु हुन्छन् । राजनीतिक पार्टीलाई हेर्ने हो भने पनि सक्रिय रुपमा काम गर्ने अधिकांश व्यक्ति नेता तथा कार्यकर्ताहरु मध्यम वर्गकै छन् । डाक्टर, पत्रकार, लेखक, शिक्षक, इन्जिनियर जस्ता बुद्धिजीवी जसलाई हामी इन्टेलेजेन्सिया भन्छौं यही वर्गबाट आएका हुन् जुन अत्यन्त सजग र जागरुक वर्गमा पर्दछन । मार्क्सले ढुलमुले वर्ग र अवसरवादी वर्ग भनि ब्याख्या गरेको मध्यम वर्गलाई अमेरिकन पत्रिका सिकागो ट्रिब्युन (chicagotribune.com) मा दिएको अन्तरवार्तामा देशगत ढंगले मध्यम वर्गलाई फरक तरिकाले बुझ्नु पर्ने उल्लेख गरेका छन् l उनले जर्मनको मध्यम वर्ग कायर भएको तर  बेलायत र अमेरिकाको मध्यम वर्ग ससक्त भएकोले जर्मनको परिवर्तनमा मध्यम वर्गको भूमिका गौण र बेलायत र अमेरिकामा अत्यन्त ससक्त भएको उल्लेख गरेका थिए l नेपालमा मध्यम वर्गको भूमिका अत्यन्त ससक्त रहेको तथ्य २००७, २०३६, २०४६, २०६२/६३ र माओवादी आन्दोलनले पुस्टि गर्दछ l अहिलेका नेपालका प्रमुख राजनीतिक दलहरु पनि यहि वर्गले नेतृत्व गरेको छ र उनीहरुका कार्यक्रमहरु पनि मध्यम वर्ग केन्द्रित रहेको देखिन्छ l  यो तथ्य विश्व र नेपालको बढदो मध्यम वर्गको संख्याले पनि पुस्टि गर्दछ l अहिले नेपालमा मध्यम वर्गको ब्यबस्थापन निकै जटिल र चुनौतिपूर्ण देखिएको छ र यदि यो वर्गको सहि ब्यबस्थापन गर्न सकिएन भने नेपालमा अर्को उथलपुथल नआउला भन्न सकिदैन l