Thursday 17 September 2020

नेपालमा बौद्धिक वर्गको भुमिका

 

नेपालमा बौद्धिक वर्गको भुमिका

समाजको परिवर्तनमा बौद्धिक वर्गको भूमिका के हुने भन्ने सन्दर्भमा ऐतिहासिक काल देखि नै निकै वहस हुदै आएको पाइन्छ l इशापुर्ब कालका ग्रीक दार्शनिकहरु  प्लेटो, अरस्तु, देखि पूर्वीय दर्शनका व्याख्याकार मनु, वेदव्यास, सप्तऋषिहरु लगायत गौतम बुद्ध, तथा पछिल्लो अवधिका युरोपियन दार्शनिकहरु हेगेल, एडम स्मिथ , मार्क्स, फ्रायड, डार्विन आदिहरुले यो बिषयमा प्रसस्त व्याख्या र विश्लेषण गरेका छन् l समाज, विश्व, प्रकृति, मानवीय चेतना आदि देखि अलग भै निष्पक्ष ढंगले दुनियाको अवलोकन गर्ने र आफ्नो विचार प्रकट गर्ने यी प्राचिन कालका दार्सनिकहरुका धारणाहरु लाइ युरोपको पुनर्जागरण कालका दार्शनिक हरुले अस्वीकार गर्दै मानव समाज देखि अलग हुन् नसक्ने धारणा राखे l यिनीहरुले सामाजिक परिवर्तनमा बौद्धिकवर्गको भूमिका सबै भन्दा महत्वपूर्ण हुने धारणा राखे l यो लेखमा बौद्धिक वर्ग र यिनीहरुको भूमिका को वारेमा विश्लेषण गर्ने कोशिस गरिएको छ l

बौद्धिक वर्गका प्रकारहरु

बौद्दिक वर्गको भूमिकालाई नितान्त नया तरिकाले ब्याख्या गर्ने बिद्द्वानको रुपमा मार्क्स लाइ लिने गरिन्छ l उनले बौद्दिक वर्ग र दार्शनिक हरुको कार्य संसारको ब्याख्या गर्नु मात्र नभई यसलाई बदल्नु हो भनि उनि पुर्वका बौद्दिक वर्गका कार्यहरुको आलोचना गरे l यो धारणालाइ मार्क्स र एन्ग्लेस द्वारा लिखित पुस्तक जर्मन विचारधारा मा उल्लेख गरिएको छ l  मार्क्सले उत्पादनका साधन माथि स्वामित्व हुने वर्गले मानसिक उत्पादनका साधनलाई पनि नियन्त्रण गर्ने धारणाको ब्याख्या गरेका छन् l मार्क्सले बौद्धिक उत्पादन पनि वर्गीय हुने उल्लेख गर्दछन (मार्क्स र एन्ग्लेस , १९८९) l मार्क्स पछी बौद्दिक वर्गको मार्क्सवादी र समाजसास्त्रीय ब्याख्या गर्ने कार्य लेनिनले गरेका छन् l  उनका अनुसार  बुद्धिजीवी र जनताको सम्बन्ध नङ र मासुजस्तो हुनुपर्छ । बुद्धिजीवी समाजबाट जन्मेको र हुर्केको हुन्छ र उ त्यतिबेला मात्र बुद्धिजीवी हुन सक्छ, जब ऊ समाजबाट विचारको निर्माण गर्छ र समाजसँग अन्तरर्कि्या गर्छ र उसको विचारले वर्गअनुसारको  अभिव्यक्ति दिने गर्दछ  । बुद्दिजिबी आफैमा वर्गीय हुने गर्दछ l उत्पीडित जनताले एक ढङ्गका बुद्धिजीवी पैदा गर्छन  र उत्पीडकहरूले अर्को ढङ्गका बुद्धिजीवी पैदा गर्छन् । बुर्जुवा पार्टी होस् वा सर्वहारा,हरेकले यस्तै बुद्धिजीवीहरुको निर्माण गरेका हुन्छन  । लेनिनका अनिसार, पेशागत क्रान्तिकारी र पेशागत बुद्धिजीवीहरूबाटै सर्वहारा वर्गको अग्रदस्ता पार्टी बनेको हुन्छ र समाजबाट जन्मेको मान्छेलाई हामी त्यतिबेला बुद्धिजीवी भन्न सक्छौँ, जतिबेला उसले समाजको वास्तविक अनुभूतिलाई संश्लेषण गरेर त्यसको अभिव्यक्ति दिन्छ । यदि ऊ त्यस्तो भूमिका खेल्न सक्दैन भने ऊ समाजबाट कटिन्छ र ऊ बुद्धिजीवी बाँकी रहँदैन । (भण्डारी, २०१२) l लेनिनले पार्टी निर्माणमा , जनतालाई सचेत पार्न, क्रान्ति सम्पन्न गर्न, र राज्य चलाउन बुद्दिजिबी हरुको भूमिका अग्रणी हुने धारणा राख्दछन l

बौद्दिक वर्गको भूमिका वारे अन्य बिभिन्न बिद्दानहरुले पनि बिभिन्न कोणले विश्लेषण  गरेका छन् l यस्ता बिद्द्वान हरुमा राल्फ वाल्दो इमर्शन, एन्टोनियो ग्राम्स्की,  इ.ओ.विल्सन, एडवार्ड सेड, नोम चोम्स्की आदि पर्दछन l अलान लाइटम्यान (१९८९) ले बुद्धिजीवीहरूका तिन तह हुन्छन् भनेका छन् । उनका अनुसार प्रारम्भिक तहको बुद्धिजीवीले आफ्नो खास बिषयको अलावा सार्वजनिक महत्त्वको विषयलाई सरल बनाएर आम मानिससम्म पुर्‍याउँछ । अर्थात् समाजका जल्दाबल्दा प्रश्नको जवाफ खोज्छ । दोश्रो वा मध्यम तहको बुद्धिजीवीले सामाजिक, सांस्कृतिक र राजनीतिक जगत संग आफ्नो विषयको सम्बन्धबारे बताउँछ, यसको वारेमा लेख्छ र बोल्छ  । यस्तो अभ्यास गर्ने बुद्धिजीवीले समाजमा आफ्नो छवि र क्षमता यस्तो बनाउँछ जसले आफूले शुरुमा पढेको बाहेक विषयमा पनि ज्ञान हासिल गर्छ र उच्च वा तेश्रो तहमा फडको मार्छ । यो तहको बुद्दिजिबिलाई समाजका समग्र विषय बताउन आग्रह गरिन्छ , किनभने ती ऊसँग भएको ज्ञानले समाजलाई फाइदा पुर्‍याउँछ । बुद्धिजीविको वारेमा सबै भन्दा स्पस्ट धारणा  राख्ने विद्दवानको रुपमा इटालीका बुद्दिजिबि ग्राम्सीलाइ लिइन्छ जसले जैविक बुद्दिजिबिको वारेमा व्याख्या गरेका थिए । उनले सहरी र गाउले बुद्दिजिबि, जैविक र सार्भाजनिक , पुजिवादी र समाजवादी गरि बुद्दिजिबि हरुको विभाजन गरेका थिए । त्यस्तै गरि बर्तमान अवधिमा अमेरिकन बुद्दिजिबी नोम चोम्स्की सार्बजनिक बुद्दिजिबिका उत्कृस्ट उदाहरण हुन् जसले अमेरिकी सरकारका गलत रबैया हरुको खुलेर आलोचना गरि रहेका छन् l

नेपालका बौद्दिक वर्ग र भूमिका

बुद्दिजिबिहरुले सामाजिक रुपान्तरण, परिवर्तन वा सामाजिक क्रान्तिमा महत्वपूर्ण भूमिका निर्भाह गरिरहेका हुन्छन l उनीहरुले आफ्नो ज्ञान, क्षमता र इच्छाशक्ति मार्फत समाज लाइ जागरुक बनाउनुका साथै राज्यका गलत रबैया का विरुद्धमा सामान्य जनतालाई सुसुचित बनाउछन l नेपालमा राणा विरुद्धको लडाई , पंचायत विरुद्धको लडाई र त्यस पछिका बहुदलीय शासनका गलत कार्य  विरुद्ध बुद्दिजिबी हरुले आफ्ना कलम, आवाज, संगठन तथा  नागरिक समाज मार्फत राज्य का गलत कार्यहरुको पर्दा फास गरिरहेका छन् l नेपालका बुद्दिजिबीहरुमा आलोचनात्मक चेतको सधै अभाव रहेको पाइन्छ l कतिपय बिषयहरुमा उनीहरु बोल्न पनि चाहदैनन् l सरकारका आर्थिक नीतिहरुको चिरफार गर्न नसक्नु, कोभिड-१९ का प्रभाव र सरकारका कार्यहरुको विश्लेषण गर्न नसक्नु, इतिहासका तथ्यहरु (राम जन्म भुमि) को वारेमा बिशेसज्ञ बोल्न नसक्नु, नेपाल भारत सम्बन्धमा तथ्य संगत धारणा नआउनु, समाज र संस्कृतिका विविध आयाम हरुको विश्लेषण गर्न नसक्नु आदि केहि उदाहरणहरु हुन् l

नेपालका केहि अपवाद बाहेक हरेक बुद्दिजिबिहरु चाहेर वा नचाहेर कुनै न कुनै पार्टी प्रति आवद्ध रहेका छन् l पंचायतलाइ  हटाउन कुनै न कुनै राजनीतिक दर्शनमा आवद्ध हुने र पछी उक्त दर्शनलाइ अंगालेको पार्टीसंग सम्बन्धित हुने चलन नेपालका बुद्दिजिबीहरुको  आम प्रवृतिको रुपमा विकास भएको पाइन्छ जुन हाल सम्म पनि कायम रहेको छ l पछिल्लो अवधिको नेपालको अभ्यासले त राजनीतिक दलसंग आवद्ध नभई न जागिर पाइन्छ न जागिरको सुरक्षा नै हुने देखिन्छ l राजनीतिक दलसंग आवद्ध भएका बुद्दिजिबिहरुले पनि उक्त दलका गलत कुराहरुको आलोचना गर्न सक्नु पर्दछ तर त्यो न नेकपा मा पाइन्छ न कांग्रेस वा राप्रपा वा तराईका दलहरुमा नै l ग्राम्सकीले भने जस्तो जैविक बुद्दिजिबीहरुमा कम्तिमा यो आट हुनु पर्दछ यदी नेपाललाई समाजवादमा लग्ने हो भने l एडवार्ड सइद भन्छन , अर्गानिक बौद्धिकहरु मानिसहरूको मस्तिष्क बदल्न संघर्षरत हुनुपर्छ । समाजको निर्मित संरचनाप्रति स्थायी प्रश्नकर्ताका रूपमा बौद्धिकहरु उभिन सक्नु पर्दछ l पार्टी देखि बाहिर रहेका बुद्दिजिबिहरुलाई यो विषयमा कि चासो छैन कि फुर्सत नै छैन l भारतीय इतिहासकार रोमिला थापरको  शब्दमा भन्ने हो भने हामीसँग धेरै व्यवसायमा अहिले बिभिन्न खाले बौद्दिक छन्, तर तिनलाई आफ्नो विषयवस्तुको घेराबाहिर निस्केर संसार चिहाउने फुर्सद छैन । यसको प्रमुख कारण भनेको मध्यम वर्गीय सोच, आर्थिक विपन्नता, राजनीति प्रतिको उदासीनता वा नकारात्मकता हो l नेपालका बुद्दिजिबिहरु आफ्नो बुद्दिको प्रयोग गरि बाच्न सक्ने अवस्थामा  नहुनु , अशिक्षा र उच्च गरिबी तथा बेरोजगारीको कारणले आम नागरिकहरुले बौद्दिक उत्पादनको उपयोग गर्न नसक्नु, अन्तरास्ट्रिय स्तरमा बुद्दिको उत्पादन पुराउन नसक्नु आदि जस्ता कारणहरुले पनि जैविक बौद्दिकहरु आफ्नो कर्तब्य प्रति त्यति सचेत हुन सकेको देखिदैन l वर्तमान नेपालि समाजको रुपान्तरणमा बौद्धिक वर्गको भूमिका अति महत्वपूर्ण भए पनि राज्यको बौद्धिक वर्ग प्रतिको दृष्टिकोण पनि स्पष्ट देखिदैन जसको कारण बौद्धिक पलायन तिब्र देखिन्छ एकातिर भने अर्को तिर विदेश गएको बौद्धिक जनशक्ति नेपाल फर्कन उत्शुक देखिदैनन l